समाचार

गण्डकीमा अब सातवटा मात्र मन्त्रालय !

८ माघ २०७९, आईतवार १५:११
गण्डकीमा अब सातवटा मात्र मन्त्रालय !

८ माघ, काठमाडौँ। गण्डकीमा सरकारले मन्त्रालयको संख्या कटौती गरेर सातवटा झार्ने भएको छ ।

मुख्यमन्त्री खगराज अधिकारी सहित गठबन्धनका दलका नेता तथा बिनाविभागीय मन्त्री माओवादीका हरिबहादुर चुमान, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पञ्चराम गुरुङ र सरकारका प्रवक्ता सीताकुमारी सुन्दाससहितको आइतबार साँझको बैठकले मन्त्रालयको संख्या सात बनाउने सहमति गरेको हो ।

हाल १२ वटा मन्त्रालय छ । सबै प्रदेशमा सुरूमा बढिमा ७ मन्त्रालय बनाइएको थियो । नेकपा विभाजनले सरकार नै धरापमा परेपछि तत्कालिन पृथ्वीसुब्बा गुरुङले मन्त्रालयको संख्या सुरूमा ८  बनाए, पछि ११ मन्त्रालयसम्म बनाउन उनले नै बाँडफाँड गरेका थिए ।

तर पनि पृथ्वीसुब्बाको सरकार ढल्यो । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बनेपछि ११ वटा मन्त्रालय कायम गरिएको थियो । तर कांग्रेसमा भागवण्डा मिलाउन पोखरेलले डोबाटे विलाई आन्तरिक मन्त्री बनाउँदै मन्त्रालयको संख्या १२ पुर्याए ।

मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशमा झरेका अधिकारीले सुरूदेखि नै मन्त्रालयको संख्या घटाउने बताएका थिए ।पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदाको सुरुमा भएको आकारमा ७ मन्त्रालय बनाउन चाहेका थिए ।

तर  सत्ता साझेदार दल र एमालेभित्रै भागबण्डा मिलाउन मन्त्रालयको संख्या ९ बनाउन दबाब परेको थियो । ‘मन्त्रालयको संख्या ७ भन्दा धेरै नबढाउने लगभग सहमति भयो,’ गण्डकी प्रदेश सरकारकी प्रवक्ता तथा विनाविभागीय मन्त्री सीता सुन्दासले भनिन्, ‘भोलि बिहानसम्म मन्त्रालय भागबण्डा सकिन्छ । सकेसम्म भोलि नै मन्त्रिपरिषद बिस्तार हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्