समाचार

पालिका पर्यटन प्रवर्द्धनको पहिलो कार्यक्रम गोकर्णमा सम्पन्न

८ माघ २०७९, आईतवार १५:०५
पालिका पर्यटन प्रवर्द्धनको पहिलो कार्यक्रम गोकर्णमा सम्पन्न

काठमाडौँ । स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रको प्रवर्द्धन र पूर्वाधार विकासलाई लक्षित गरिएको ‘पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम’ काठमाडौँको गोकर्णेश्वर नगरपालिकाबाट सुरु भएको छ ।

शनिबार दिउँसो गोकर्णेश्वरको गोकर्ण शहिद निजामति पार्कमा पहिलो कार्यक्रम सम्पन्न भएको हो । नेपाल टुरिजम प्रोमोसन एनटीपी मल्टिमिडिया ग्रुपको आयोजनामा भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका ४ का वडाध्यक्ष जयराम महत र पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देल प्रमुख वक्ता थिए ।

No description available.

नेपाल पर्यटन बोर्डको सहकार्य र गोकर्णेश्वर नगरपालिकाको सहयोगमा सञ्चालित कार्यक्रममा गोकर्णमा रहेको शहिद पार्कको निर्माण, व्यवस्थापन तथा पर्यावरणीय पर्यटनका विषयमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै वडाध्यक्ष महतले शहिद निजामति पार्क पर्यावरणका हिसाबले काठमाडौँको दक्षिण क्षेत्रका लागि हब बनाउन सकिने बताए ।

अहिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको बजेटमा पार्क निर्माण तथा व्यवस्थापनको काम भइरहेकाले निर्माण कार्य सम्पन्न भएपश्चात यसलाई दक्षिण एसियाकै उत्कृष्ट पार्कका रुपमा चिनाउन सकिने बताए । यस्तै पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देलले शहिद दिवसको दिन पार्क उद्घाटन गर्नेगरि अहिले निर्माण कार्य तीव्र गतिमा भइरहेको बताए ।

पार्क नजिक देखिएको निर्माण सामग्री, फोहोर व्यवस्थापनको बाँकी काम विस्तारै हुँदै जाने पनि उनको भनाइ छ । कार्यक्रम पत्रकार विष्णु विवेकले सहजीकरण गरेका थिए । नेपाल नगरपालिका संघ र पर्यटन बोर्डसँग सहकार्य गरेर पहिलो चरणमा नेपालका १०० वटा पालिकामा ‘पालिका पर्यटन प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिनेछ ।

जसको सुरुवात गोकर्णेश्वर नगरपालिकाबाट गरिएको हो । काठमाडौँ उपत्यकामा रहेका पालिकापछि विश्व सम्पदा सूचिमा रहेका पर्यटकीय क्षेत्र लगायत विभिन्न पालिकाका पर्यटकीय क्षेत्रमा पुगेर पर्यटन प्रवर्द्र्धनमुलक बहस कार्यक्रम गरिनेछ । पालिका पर्यटन प्रवर्द्धन कार्यक्रमपछि आउँदो बैशाखमा काठमाडौँको बसन्तपुरमा ‘नेपाल पर्यटन महोत्सव’ आयोजना गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्