समाचार

प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिनु हुन्थेन, गल्ती भयो : शेखर कोइराला

८ माघ २०७९, आईतवार ०६:०१
प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिनु हुन्थेन, गल्ती भयो : शेखर कोइराला

८ माघ, काठमाडौँ। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर आफूहरूले गल्ती गरेको बताएका छन् ।

आइतबार बिहान काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको संस्थापनइतर समूहको बैठकमा उनले पार्टीले लिएको निर्णयले पार्टीलाई नै क्षति भइरहेको बताए ।

“हामीले विश्वासको मत दिएर गल्ती गर्‍यौँ । तटस्थ बस्ने प्रस्ताव मैले कार्यसम्पादन समिति बैठकमा राखेको थिएँ,” शेखरले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, “बहुमतको निर्णय मान्नुपर्ने बाध्यता पर्‍यो । विश्वासको मत दिनु हुन्थेन ।”

कांग्रेसले २६ पुसमा संसदमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । विश्वासको मत दिने निर्णय गर्दा नेता कोइरालाले तटस्थ बस्नुपर्ने प्रस्ताव गरेका थिए । तर, सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि भए पनि विश्वासको मत दिनुपर्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा महामन्त्रीद्वय विश्वाप्रकाश शर्मा र गगन थापा, नेताहरू प्रकाशमानसिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी र प्रदीप पौडेलले लिखित असहमति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्