समाचार

उपसभामुखको निर्वाचन प्रक्रिया सुरु, आज उम्मेदवारी दर्ता

६ माघ २०७९, शुक्रबार ०२:०२
उपसभामुखको निर्वाचन प्रक्रिया सुरु, आज उम्मेदवारी दर्ता

६ माघ, काठमाडौँ। उपसभामुख पदका लागि आज मनोनयन दर्ताको समय दिइएको छ। प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रकाशित गरेको कार्यतालिकाअनुसार शुक्रबार उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ।

संघीय संसद सचिवालयका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत आज उपसभामुखका लागि मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।

मनोनयन दर्ताको मिति दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । उम्मेदवारको नामावली भने शनिबार प्रकाशन गरिनेछ । मतदान आइतबारको प्रतिनिधि सभा बैठकमा हुनेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीले पाउने पक्का छ । स्वतन्त्र पार्टीभित्र पनि सोविता गौतमले पाउने पक्का जस्तै भएको छ । सभामुखमा पुरुष उम्मेदवार विजयी भएकाले उपसभामुखमा फरक पार्टीको महिला उम्मेदवार निर्वाचित हुनैपर्ने कानुनी प्रावधान रहेको छ ।

रवि लामिछाने नेतृत्वको उक्त पार्टीबाट उपसभामुखमा २ जना दाबेदार छन्। सांसदद्वय सोबिता गौतम र इन्दिरा रानामगर दाबेदार रहेको बताइएको छ।

कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपालगायत दलले पनि साझा उम्मेदवार तय गर्ने तयारी गरेका छन्। शुक्रबार बैठक गरी उम्मेदवार तय गर्ने तयारी छ।

प्रतिक्रिया दिनुहोस्