४ माघ, चितवन । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री नारायणकाजी श्रेष्ठले चितवनका जनतासँग घुस, चाकडी र उपहारविना जनताको काम गर्ने बताएका छन् ।
भरतपुर- १३ मा रहेको हिमालय दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने– ‘मेरो जीवनशैलीको कुरा गर्नुहुन्छ भने म पाँच चिज खादिनँ । माछा, मासु, अण्डा खान्नँ । रक्सी खान्नँ, कोल्ड ड्रिंक्स पनि खान्नँ ।’
उनले थप भने- ‘कहिलेकाहीँ ग्रिन-टी खाए पनि चिया-कफी समेत खान्नँ । चुरोट, खैनी, सुपारी, पान केही खान्नँ । यी पाँच वटा क्याटोगोरीको चिज खान्नँ । तपाईँको अघि आउँदा फेरि म थप तीनवटा चिज खान्नँ भन्ने जानकारी गराउँछु। एउटा- घुस खान्नँ, अर्को चाकडी खान्नँ र उपहार पनि खान्नँ ।’
माहान् शहिद, बेपत्ता योद्धाहरुको ठूलो त्याग, बलिदान र समपर्णका कारण नेपालमा ठूलो परिवर्तन आएको बताउँदै श्रेष्ठले भले भने– ‘त्यसैले हामीले खराब चिजलाई अन्त्य गर्नुपर्छ । आफैँ खाउँ , आफ्नैलाई मात्र केही गरौँ भन्ने दिशातिर जाने हो भने दिनप्रतिदिन परिवर्तनका शहिद र बेपत्ता योद्धालाई ठुलो अन्याय गरेको ठहरिन्छ । हामीले त्यसो गर्न मिल्दैन । यो राजनीतिक परिवर्तनलाई सामाजिक-आर्थिक रुपान्तरणको निम्ति निस्वार्थ ढंगबाट प्रयोग गर्ने दिशातर्फ जानुपर्छ ।’
उनले जनताबाट निर्वाचित भएर पाएको पद विलासिताको निम्ति, शान देखाउन र पैसा कमाउनको लागि नभई जनताको सेवाको लागि भएको बताएका थिए । भ्रस्ट्राचार र व्यक्तिगत स्वार्थबाट आफूलाई मुक्त राखे मात्र शहिद र बेपत्ताहरूको सपना पूरा हुने उनले बताए ।
उपलब्धिकाे रक्षा गर्दै सामाजिक आर्थिक रुपान्तरण गर्न र देशलाई समृद्ध बनाई त्यो प्रतिफल जनतालाई दिन सरकार गुणात्मक रुपमा लाग्ने समेत उनले बताए । सबै पुर्वधारमध्येको मुख्य पुर्वाधार शिक्षा भएको उनकाे भनाइ थियाे ।
उनले शिक्षा क्षेत्रको विकासविना अरु विकास ठीक दिशातिर लैजान नसक्ने र दीर्घजीवी बनाउन नसक्ने समेत बताए । ‘राज्यले पहिलो लगानी शिक्षामा गर्नुपर्छ । र शिक्षामा गुणात्मक परिवर्तन गर्नुपर्छ भन्नेमा यो सरकार प्रतिबद्ध छ,’ उनले भने । श्रेष्ठका अनुसार वर्तमान सरकार सामुदायिक विद्यालय र आंगिक क्याम्पसहरुको शिक्षालाई गुणस्तरीय बनाउन चाहन्छ ।