३ माघ, काठमाडौँ । प्रतिनिधिसभाको अंकगणितलाई आधार बनाउँदै सत्तारूढ साझेदार दलहरूले मन्त्रालय बाँडफाँट टुंग्याएका छन् । बाँडफाँटबारे आ–आफ्नो पार्टीमा आन्तरिक छलफल र सरकारलाई समर्थन गरेका अन्य दलहरूलाई पनि समेट्ने कोसिस कायम राख्न उनीहरूले टुंग्याएका मन्त्रालयबारे औपचारिक जानकारी भने गराएका छैनन् ।
मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीको शपथ गराउने सत्तासाझेदार दलहरूको तयारी छ । नेताहरूका अनुसार त्यसअघि मन्त्रालय बाँडफाँटमा सामान्य हेरफेरको सम्भावना छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ११ पुसमा पहिलोपटक आठ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
स्रोतका अनुसार सत्ता गठबन्धनको सबभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने छ । माओवादी केन्द्रले ४ मन्त्रालय लिँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले ३्/३ वटा मन्त्रालय पाउने भएको छ । माओवादी केन्द्र, रास्वपा र राप्रपाले एक-एक राज्यमन्त्री पनि पाउनेछन् ।