समाचार

सुदूरपश्चिम : सभामुखमा नागरिक उन्मुक्तिले गठबन्धनलाई मतदान गर्ने

२ माघ २०७९, सोमबार १५:०७
सुदूरपश्चिम : सभामुखमा नागरिक उन्मुक्तिले गठबन्धनलाई मतदान गर्ने

२ माघ, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीले सत्तारुढ गठबन्धनलाई मत दिने भएको छ।

यसअघि नागरिक उन्मुक्ति पार्टीले मतदान नगर्दा सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका उम्मेदवार मानबहादुर रावल दुबैले बहुमत ल्याउन असफल भएका थिए ।

 नेकपा एमाले नेतृत्वको सत्तारूढ गठबन्धनमा निर्णायक शक्ति रहेको नागरिक उन्मुक्ति पार्टीले सभामुखमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने भएको हो। स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीमा नेकपा माओवादी केन्द्रका भीम भण्डारीलाई मतदान गर्न समझदारी भएको छ। यस्तै पार्टी केन्द्रले प्रदेशसभा सदस्यहरूलाई मतदानका लागि निर्देशनसमेत दिएको छ।

सोमबार नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेशसभा बैठकमा अध्यक्ष रञ्जिता श्रेष्ठले माओवादी केन्द्रका उम्मेदवार भण्डारीलाई मतदान गर्न निर्देशन दिएकी हुन् । अनलाइनखबरसँगको कुराकानीमा उनले सभामुखमा सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिने बताइन् ।

सुदूरपश्चिम प्रदेशभामा ३० पुसमा सभामुख चयनका लागि भएको मतदानमा नागरिक उन्मुक्ति पार्टीका सांसद तटस्थ बस्दा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन् । सोमबार पुन: मतदान गर्ने कार्यसूची भएपनि राष्ट्रिय शोकका कारण बैठक बस्न सकेन ।

प्रतिक्रिया दिनुहोस्