२ माघ, काठमाडौं । यती एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका क्रु मेम्बर, विदेशी र पहिचान नभएका शव भोलि (मंगलबार) मात्रै काठमाडौं पठाइने भएको छ ।
पोखरामा शव बुझ्न चाहने आफन्तलाई पोस्टमार्टमपछि शव बुझाउन सुरु गरिएको हो ।बाँकी सनाखत भइसकेका १८ जना र सनाखत हुन बाँकी २८ जना गरी ४६ जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ ल्याउने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
शव लिनका लागि नेपाली सेनाको हेलिकप्टर पोखरा पुगिसकेको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले आज अबेर भएकोले भोलि मङ्गलवार बिहान ९ बजेपछि शव काठमाण्डाै पठाइने जानकारी दिए ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उद्धार तथा समन्वय केन्द्रका अनुसार ४६ जनाको शव काठमाडौं पठाइने भएको छ । त्यस्तै २३ जनाको शव भने पोखरामै अभिभावकलाई बुझाउने तयारी छ । पोखरामा मृतकका आफन्तलाई शव बुझाउन सुरु गरिएको पनि केन्द्रले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले सोमबार साँझ परिसकेकोले मंगलबार बिहान ९ बजेपछि शव काठमाडौं पठाइने बताए । उनका अनुसार हालसम्म फेला परेका ६९ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । तीनजना अझैँ बेपत्ता छन् । बेपत्ताको खोजी कार्य जारी छ ।