१ माघ, काठमाडौं । सरकारले पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको छ।
पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको शोकपूर्ण घटनाका कारण माघ २ मा एकदिन सार्वजनिक बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
अर्थमन्त्री पौडेलका अनुसार पूर्वसचिव नागेन्द्र घिमिरेकाे संयाेजकत्वमा आयाेग गठन गरिएकाे हाे । घिमिरे नेतृत्वको आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा र पर्यटन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछाने रहेका छन् ।
आइतबार काठमाडौंबाट पोखराका लागी उडेको यति एयर प्रालिको एनवाईटी–६९१, ९एन–एएनसी विमान १० बजेर ५० मिनेटमा पोखरा टावरसँग सम्पर्कपछि दुर्घटना भएको थियो । पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतीको खोँचबाट ४० जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन। जहाजमा ७२ जना सवार थिए । जसमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए। ५३ नेपाली यात्रु र १५ विदेशी नागरिक रहेको यती एयरलाइन्सले जनाएको छ।