१ माघ, पोखरा। पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको विमानमा दुई डाक्टर दम्पती पनि परेको खुलेको छ।
राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत ३३ वर्षीय डा. सुशील श्रेष्ठ र उनकी श्रीमती डा. सोना दिवारक रहेको ट्रमा सेन्टरमा पूर्वनिर्देशक डा. सन्तोष पौडेलले पुष्टि गरे ।
राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले डा. श्रेष्ठले हिजो र अस्ति ओटी गरेर एक दुई दिन बिदा लिएर उनीहरू पोखरा घरमा विदा मनाउन पोखरा जान लागेको समेत आफूलाई बताएको थाहाखबरलाई जानकारी दिए।
उनले भने, ‘हिजोसम्म काम नै गर्नुभएको थियो’ उनीहरूको घर नै पोखरा भएको कारण बिदा मनाउन घर जान्छु भन्नुभएर दुई दिनको बिदा लिनुभएको थियो’ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा. श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा समेत काम गरेका थिए । उनले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन् ।
ट्रमा सेन्टरका निर्देशक रुद्र मरासिनीले डा. श्रेष्ठले घर जान विदा लिएको बताए । डा. श्रेष्ठ दुई वर्षदेखि ट्रमा सेन्टरमा कार्यरत थिए ।