समाचार

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

२९ पुष २०७९, शुक्रबार १२:५८
गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

२९ पुस, काठमाडौँ।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । साठी सदस्यीय प्रदेशसभामा विश्वासको मतका पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो ।

मुख्यमन्त्री अधिकारीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा नेकपा (एमाले) का २१, माओवादीका आठ र राप्रपाका दुई सांसदले मतदान गर्नुभएको थियो भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २७ सदस्यले विपक्षमा मतदान गरेका छन्।

एमालेबाटै निर्वाचित भएर सदनको अध्यक्षता गर्नुभएका मित्रलाल बस्यालले मतदान गर्नुभएन भने स्वतन्त्र सांसद राजीव गुरुङ बैठकमा अनुपस्थित थिए । एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका छन् ।

अधिकारीले गठबन्धनका तर्फबाट ३३ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरे पछि मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्