समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री रावल लिए यस्तो पहिलो निर्णय

२८ पुष २०७९, बिहीबार १२:३२
सुदूरपश्चिमका मुख्यमन्त्री रावल लिए यस्तो पहिलो निर्णय

२८ पुस, धनगढी । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र रावलले शासकीय सुधार गर्नु आफ्नो पहिलो निर्णय रहेको बताएका छन् ।

बिहीबार नै उनले पदभार सम्हालेका छन् । उनलाई प्रदेश प्रमुख देवराज जोशीले शपथ गराएका हुन् । यसैगरी माओवादी संसदीय दलका नेता खगराज भट्ट र एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले बिनाविभागीय मन्त्रीका रुपमा शपथ ग्रहण गरे ।

रावल बुधबार एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री रावलले शासकीय सुधार गर्न कार्यदल गठन गरेका छन् । उनले मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्ने सम्बन्धमा नतिजामूलक कार्ययोजना तयार पार्न प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा शासकीय सुधार योजना कार्यदल गठन गरेका हुन् ।

कार्यदलमा सबै मन्त्रालयका सचिवहरू सदस्य रहनेछन् । ७ दिनभित्र कार्यदललाई प्रतिवेदन तयार पार्न निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्