२४ पुस, काठमाडौँ । सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनकाे बाँडफाँट टुंगिएको छ ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा ६ वटा प्रदेशको पनि बाँडफाँट टुंगिएको छ।
जसमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालाे सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बताएका छन् ।
त्यस्तै, प्रदेश नं १ संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्रीमा नियुक्त भइसकेका छन् ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउत सहभागी थिए ।