२४ पुस, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।
चर्को नाफा राखेको आलोचना भएपछि निगमले आन्तरिकतर्फ लिटरमा २० र अन्तर्राष्ट्रियतर्फ लिटरमा ३० रुपैयाँ मूल्य घटाएको छ। निगमलाई आन्तरिकमा ५० र अन्तर्राष्ट्रियमा लिटरमा ९० रुपैयाँभन्दा बढी नाफा थियो। निगमले ठूलो नाफा राखेर कालोबजारी गरेको भन्दै उजुरी परेपछि भारी मूल्य कटौती भएको हो।
निगमले आज राति १२ देखि लागू हुने गरी इन्धनको मूल्य घटेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटेको छ । यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटेको निगमले जानकारी दिएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै गएपछि निगमको नाफा दुई अर्ब भन्दा माथि छ। तर विगतमा भएको नोक्सानी घटाउन निगमले मूल्य नघटाइ बसेको थियो। निगमले इन्डियन आयल कर्पोरेशनलाई १६ अर्ब रुपैयाँ भन्दा बढी तिर्न बाँकी छ।