समाचार

माओवादीसँग एकताका लागि नेसपाले वार्ता टोली गठन गर्दै

२४ पुष २०७९, आईतवार ०३:१६
माओवादीसँग एकताका लागि नेसपाले वार्ता टोली गठन गर्दै

२४ पुस, काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

समाजवादी धारको नेतृत्व गर्ने गरी नेतृत्व र सिद्धान्त मिल्ने दलहरुसँगको एकता प्रक्रिया अघि बढाउने विषयमा आज छलफल हुने जनाइएको छ । नेसपाको आजको बैठकले वाम शक्तिहरुसँग एकताको सम्बाद गर्न सम्बाद समिति गठन गर्दैछ ।

बैठकमा पार्टीको संगठन सृदृढीकरण,पार्टीका विभिन्न तहका सम्मेलनको विषय, चुनावको समिक्षा, समयसामयिक राजनीतिक विषयलगायत एजेण्डाहरुमाथि पनि छलफल हुने स्रोतले जनाएको छ ।

शनिबार भएको दुई पार्टीका अध्यक्षहरूको भेटपछि पार्टी एकताको वार्ताको निम्ति कार्यदल बनाएर अगाडि बढ्ने विषयमा समेत छलफल भएको थियो। सोहीअनुसार माओवादी केन्द्रीय कार्यालयको बैठकले बृहत् वाम एकताको पहलका लागि भन्दै उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेतसहित वार्ता टोली बनाएको छ। नेसपाले भने आज  राजनीतिक समितिको बैठक राख्दै छ।

प्रतिक्रिया दिनुहोस्