समाचार

एकीकृत समाजवादीका अध्यक्ष नेपालले जसपालाई पठायो पत्र

२३ पुष २०७९, शनिबार ०५:४४
एकीकृत समाजवादीका अध्यक्ष नेपालले जसपालाई पठायो पत्र

२३ पुस, काठमाडौं। नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच चलिरहेको एकता-वार्ता अब औपचारिक रुपमै अगाडि बढेको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जसपालाई पत्र पठाइएको जानकारी दिए।

एकीकृत समाजवादीको गत बिहीबारको सचिवालय बैठकले वाम एकताका लागि कार्यदल गठन गरेको थियो। बेदुराम भुसाल, गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेको कार्यदलले जसपालाई पत्र पठाएको अध्यक्ष नेपालको भनाइ छ।

‘कार्यदलले आफ्नो चिठी जनता समाजवादी पार्टीलाई पठाएको छ। सो पार्टीका नेता उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, गोविन्द चौधरी लगायतका नेताहरुसँग पनि संवाद अगाडि बढाउँदैछौँ’, शनिबार आयोजित एकीकृत समाजवादी निकट नेवा संघको अधिवेशनमा उनले भने।

जसपासँग विचारमा कति मिल्ने, मार्क्सवाद र लेनिनवादप्रति कति प्रतिबद्ध हुने, समाजवादप्रति कति प्रतिबद्ध हुने यी सबैमा विचार र धारणा कति मिल्छन्, त्यसआधारमा अहिलेको राष्ट्रिय राजनीतिमा कसरी अगाडि बढ्ने, त्यो सबै टुंगो गरेर एउटा खाका तयार पार्ने र सहमतिको एउटा निश्चित आधार तयार गर्ने अध्यक्ष नेपालको भनाइ छ।

‘अरु पनि पार्टीहरु छन्। नेपाल मजदुर किसान पार्टी लगायत सबै पार्टीसँग कुराकानी गर्छौँ। यसअर्थमा पनि हाम्रो राजनीतिक पहलकदमी अगाडि बढ्नेछ। राजनीतिक सक्रियता अगाडि बढ्नेछ’, नेपालले भने।

प्रतिक्रिया दिनुहोस्