२२ पुस, काठमाडौँ। सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकताका विषयमा परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सांसद पद खारेजीको माग गर्दै परेको रिटमा शुक्रबार सुनुवाइ गर्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । योसँगै लामिछानेको सांसद पद यथावत रहने भएको छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
संवैधानिक इजलासमा शुक्रवार भएको सुनुवाईपछि अन्तरिम आदेश दिन नपर्ने भनिएको हो । रवि लामिछानेले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको पुनः नागरिकता प्राप्ति नगरेकाले उनको सांसद पदसमेत खारेजीको माग गर्दै सर्वाेच्चमा रिट परेको थियो । सो रिटमाथि थप सुनुवाई लागि माघ ११ गतेको पेशी तोकिएको छ ।
अमेरिकी नागरिकता लिएका लामिछानेले त्यताको नागरिकता त्यागे पनि फेरि नेपाली नागरिकता नलिएकाले उनको नागरिकता कायम नरहेको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो ।