२० पुस, काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक परिस्थितिबारे पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्दैछ ।
साथै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा खटिएका प्रचार समितिका सदस्य लगायतलाई कांग्रेसले धन्यवाद ज्ञापनसमेत गर्दैछ ।
पत्रकार सम्मेलन दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । पार्टी सरकारबाट बाहिरिएपछि नेताहरुबाट फरक फरक खालका प्रतिक्रिया आइरहेको अवस्थामा पार्टीले पत्रकार सम्मेलनमार्फत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा धारणा सार्वजनिक गर्न लागेको हो ।
मुख्य सचिव पौडेलले भने, ‘चुनावको बेला पार्टीको प्रचार समितिका सदस्यहरुले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुभयो, नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सहयोग गर्नुभयो भनेर धन्यवाद दिने कार्यक्रम पनि छ ।’
निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरु गठबन्धन गरेर चुनाव लडेका थिए । चुनावको परिणामपछि माओवादी केन्द्रले गठबन्धन तोडेर नेकपा एमालेको समर्थनमा सरकारको नेतृत्व गरेको छ । कांग्रेस नेतृत्वमाथि गठबन्धन जोगाउन नसकेको आरोप लाग्दै आएको छ ।