समाचार

माओवादी, नेकपा (एस)सँग एकता गर्न जसपाले बनायो संयोजन समिति

१९ पुष २०७९, मंगलवार १५:२६
माओवादी, नेकपा (एस)सँग एकता गर्न जसपाले बनायो संयोजन समिति

१९ पुस,काठमाडौँ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले राजनीतिक दल र सङ्गठनहरुसँग एकता सम्बन्धमा वार्ता गर्नका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।

दुई दिनदेखि जारी राजनीतिक समितिको बैठकले सो समिति गठन गरेको हो । सो समितिको सदस्यहरुमा रकम चेमजोङ र गोविन्द चौधरी रहेका छन् । जसपाले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसँग एकताका लागि पहल थालेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्र र नेकपा (एस) सँग एकताबारे अनौपचारिक छलफल गरिसकेका छन् ।  सरकारले पूर्णता पाउने बित्तिकै वार्तालाई अगाडि बढाउने पार्टी स्रोतले जनाएको छ ।

त्यस्तै, सङ्घीय परिषद् र केन्द्रीय सदस्यहरूको भूमिकाबारे छानबिन गर्नका लागि शिवलाल थापा मगरको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी गराए । समितिमा देवबहादुर दुरा, बालकिशोर यादव, अशोक लगरवार र प्रमीला यादव छन् ।

पार्टी अधिवेशनका लागि जसपाको विधान मस्यौदा गर्न अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा नौ सदस्यीय विधान मस्यौदा समिति गठन पनि भएको छ । सो समितिमा राजेन्द्र श्रेष्ठ, रकम चेमजोङ्ग, सुशीला श्रेष्ठ, शिवलाल थापा मगर, लालबाबु राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर र भगवती सुवेदी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्