समाचार

चार जिल्लाका १५ पालिकाको सामुदायिक विद्यालयमा बिदा

१९ पुष २०७९, मंगलवार १५:१६
चार जिल्लाका १५ पालिकाको सामुदायिक विद्यालयमा बिदा

१९ पुस,मधेस। दिउँसो चल्ने हिसो हावा र शीतलहरका कारण अत्यधिक चिसो बढेपछि मधेस प्रदेशका स्थानीय तहहरूले धामाधम सामुदायिक विद्यालयहरू बन्द गर्ने निर्णय गर्न थालेका छन् ।

मधेस प्रदेशमा अहिलेसम्म धनुषा, महोत्तरी, सिरहा र बारा जिल्लाका सामुदायिक विद्यालयहरु बन्द गरिएका छन् । विद्यालय बन्द गर्नेहरुमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, सबैला नगरपालिका, हंसपुर नगरपालिका र मिथिला बिहारी नगरपालिका गरी चारवटा पालिकाहरु रहेका छन् ।

त्यस्तै, महोत्तरीको औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, पिपरा गाउँपालिका, सोनमा गाउँपालिका, जलेश्वर नगरपालिका, लोहारपट्टी नगरपालिका, मनरासिस्वा नगरपालिका, भंगहा नगरपालिका र मट्टिहानी नगरपालिका गरी ९ पालिकाका सामुदायिक विद्यालयहरु पनि बन्द गरिएका छन् ।

उता, सिरहाको मिर्चैया नगरपालिका र बाराको कलैया उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरु पनि बन्द गरिएका छन् ।

अधिकांश विद्यालयहरुमा पुस २२ गतेसम्म जाडो बिदा दिइएको छ भने महोत्तरीको पिपरा गाउँपालिका र जलेश्वर नगरपालिकामा २६ गतेसम्मका लागि बिदा दिइएको छ ।  बाक्लो हुस्सु लागेर अत्यधिक चिसो बढेपछि अन्य पालिकाहरुले पनि बिदाको तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्