समाचार

नेकपा एसको पोलिटब्युरो बैठक आजपनि बस्दै

१९ पुष २०७९, मंगलवार ०३:४१
नेकपा एसको पोलिटब्युरो बैठक आजपनि बस्दै

१९ पुस,काठमाडौँ। नेकपा ( एकीकृत समाजवादी ) को पोलिटब्यूरो बैठक आज ११ बजे पुन: बस्दै छ । आज बस्ने पोलिटब्यूरो बैठकले सरकारमा जाने वा नजाने विषयमा टुङ्गो लगाउनेछ ।

 पोलिटब्यूरो बैठकमा आज बाँकी नेताले धारणा राख्ने छन् । हिजो ३० नेताले आफ्नो धारणा राखेका थिए । वामपन्थी शक्तिसँग एकताका विषयमा प्राथमिकता दिनुपर्नेमा अधिकांश नेताको साझा धारणा देखिएको छ ।

बैठकमा अध्यक्ष माधव कुमार नेपालले सरकारमा नजाने प्रस्ताव पेश गरेका छन् । नेपालले पछिल्लो पटक नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुको कारण र सो गठबन्धन कायम हुन नसकेपछि विकास भएको राजनीतिक घटनाक्रमका बारे जानकारी गराउँदै प्रतिगमन र पुनरुत्थानवादीको जगमा उभिएको वर्तमान सरकारमा पार्टी सहभागी हुन नहुने प्रस्ताव राखे ।

उनले पार्टीलाई सबल बनाएर शक्ति निर्माणका लागि आवश्यक नीति तथा कार्ययोजनामा जोड दिएका छन् । शनिबार र आइतबार दुई दिनसम्म पार्टीको स्थायी समिति बैठकले सरकारमा जाने वा नजाने विषयमा टुङ्गो लगाउन नसकेपछि पोलिटब्यूरो सदस्यको सुझाव बुझ्न उक्त बैठक बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्