समाचार

२५ गतेभित्र माओवादी केन्द्रको प्रदेश सम्मेलन

१८ मंसिर २०७८, शनिबार ०१:५४
२५ गतेभित्र माओवादी केन्द्रको प्रदेश सम्मेलन

१७ मंसिर, काठमाडौं। नेकपा (माओवादी केन्द्र) राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ। पुस ११ देखि १३ सम्म हुने राष्ट्रिय सम्मेलनमा एक हजार ८ सयको हाराहारीमा प्रतिनिधि सहभागी गराउने तयारी भएको स्रोतले बताए।

पदेन प्रतिनिधि धेरै हुने भएकाले सबैलाई समेटेर १ हजार ८ सयजति प्रतिनिधि सहभागी गराउने तयारी हो’,स्रोतले भन्यो। राष्ट्रिय सम्मेलनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल राजनीतिक दस्तावेज लेखनमा जुटिसकेका छन्। ‘अहिले मानिसहरूसँग भेटघाट निकै कम छ।

उन राष्ट्रिय सम्मेलनमा पेस गर्ने राजनीतिक प्रतिवेदन लेखनमा लागिसक्नुभएको छ’, दाहालनिकट एक नेताले भने। कुनै बेला चार हजार केन्द्रीय सदस्य बनाएर आलोचना खेपेको माओवादी केन्द्रले यसपटक भने चुस्त दुरुस्त संगठन बनाउन जोड दिँदै मंसिर ४ गते वडा र मंसिर ११ गते गाउँपालिकाको सम्मेलन गरेको छ।

मंसिर १८ गते जिल्ला र २५ गतेभित्र प्रदेश सम्मेलन गरिसक्ने तालिका छ। ‘केन्द्रले पठाएको कार्यतालिकाअनुसार अहिले देशभर पार्टी संगठनको काम भइरहेको छ,’स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, ‘अब माओवादी केन्द्र वैचारिक तथा राजनीतिक रूपले स्पष्ट भएर अघि बढ्नेछ।’ उनका अनुसार पार्टीमा पहिलाको भन्दा आकर्षण बढेको छ। ‘अहिलेको अवस्थामा पार्टीप्रतिको आकर्षण बढेको छ त्यही भएकाले पार्टी नेता र कार्यकर्ता उत्साहित छन्’, गजुरेलले भने।

माओवादी केन्द्रले गएको साउनमा विधान संशोधन गरेर पार्टीका विभिन्न तह र तप्कामा निर्वाचनको व्यवस्था गरेको छ। ‘साउनमा पास गरिएको विधानअनुसार नै सबै कमिटी निर्माण हुनेछन्,’ गजुरेलले भने।

एमाले–माओवादी एकीकरणपछि बनेको नेकपाको संरचनाअन्तर्गत अहिले माओवादी केन्द्रले अन्तरिम विधान जारी गरेको छ। सो विधानमा १४ केन्द्रीय निकायको व्यवस्था छ। जसमा राष्ट्रिय महाधिवेशन, केन्द्रीय समिति, राष्ट्रिय परिषद्,अनुशासन आयोग, लेखापरीक्षण आयोग,निर्वाचन आयोग, सल्लाहकार परिषद्,केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च छन्। माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित बहुपद सिर्जना गरेको छ।

२९९ सदस्यीय केन्द्रीय समिति,केन्द्रीय समितिको कुल सदस्य संख्याको बढीमा एकतिहाइ सदस्य रहेको पोलिटब्युरो र पोलिटब्युरोको कुल सदस्यको बढीमा एकतिहाइ सदस्य रहेको स्थायी समितिको व्यवस्था गरिएको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्