१७ पुस,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागिताको विषय आज टुंग्याउने भएको छ । शनिबारबाट सुरू स्थायी समितीको बैठक आज पनि जारी छ ।
बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जाने वा नजाने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।
वर्तमान सरकारमाथिको दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा संगठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल जारी रहेको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
शनिबारको बैठकमा अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालसहित १८ जना नेताले आफ्नो धारणा राखेका थिए ।बैठकमा महासचिव डा. वेदुराम भुसालले संगठन निर्माण र पुनर्ताजगीका लागि प्रस्ताव पेश गरेका थिए । त्यस विषयमा आज पनि छलफल हुनेछ ।