१६ पुस, काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा केही नेताले छलफलमा धारणा राख्न बाँकी रहेकाले बैठक स्थगित गरिएको हो ।
आजको बैठकमा १८ जना नेताले आफ्नो धारणा राखेका छन् । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा संगठन निर्माणका कार्ययोजना, वामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । आजको बैठकमा नेकपा (एमाले)सँग एकता गर्ने विषयमा नेताहरुबीच मतभिन्नता देखिएको छ ।
आजको बैठकमा नेकपा (एमाले)सँग एकता गर्ने विषयमा नेताहरुबीच मत भिन्नता देखिएको छ । बैठकको प्रारम्भमा अध्यक्ष नेपालले पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिकाका बारे धारणा राखे ।
उनले पार्टीको शक्ति सुदृढीकरणका लागि सशक्त एजेण्डाका साथ देशव्यापी अभियान अगााडि बढाउन नेताहरुलाई निर्देशन दिए । अध्यक्ष नेपालले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउने विषयमा गम्भीरतापूर्वक विचार राख्न नेतालाई आग्रह गरे ।
पार्टीका सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी पार्टी निर्माणका लागि आवश्यक पर्ने वैचारिक र राजनीतिक हतियारलाई चुस्त, दुरुस्त पार्नुपर्नेमा जोड दिए । पार्टी सञ्चालनमा समग्र विषयको वृहत छलफल गर्नुपर्ने उनको भनाइ थियो ।
महासचिव डा. बेदुराम भुसालले सङ्गठन निर्माण र पुनःताजगीका लागि प्रस्ताव पेस गरे । पार्टीले पछिल्लो समय जनवर्गीय सङ्गठनका साथै प्रवासमा रहेका पार्टी निकट सङ्गठन, शुभेच्छुकसँग सुझाव लिएको छ ।