१४ पुस,काठमाडौँ। प्रदेश सरकारका लागि सत्ता गठबन्धन भित्र खाका तयार भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटार पुगेर प्रदेश सरकारका बारेमा छलफल गरेका हुन् ।
उक्त छलफलमा एमालेले चार वटा प्रदेशमा सरकारको नेतृत्व गर्ने, माओवादीले दुई वटा र एउटा प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने मोटामोटी सहमति भएको हो।
एमालेले प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली तथा माओवादीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री लिने विषयमा ओली र दाहालबीच छलफल भएको छ । मधेस प्रदेशमा भने जसपा र जनमत पार्टीबीच आधा–आधा कार्यकाल नेतृत्व गर्ने गरी समझदारी जुटाउन खोजिएको छ ।
संघमा सत्ता गठबन्धन परिवर्तन हुनेबित्तिकै प्रदेशमा पनि नयाँ समीकरणको अवस्था सिर्जना भएको हो । सातै प्रदेशमा गठबन्धनको बहुमत पुग्ने अवस्था छ । एमालेबाट प्रदेश १ मा हिक्मत कार्की, गण्डकीमा खगराज अधिकारी र कर्णालीमा यामलाल कँडेल संसदीय दलको नेता बनिसकेका छन् ।
वाग्मती प्रदेश संसदीय दलको नेतामा चितवनका जगन्नाथ थपलिया निर्विरोध निर्वाचित हुने सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एमालेले दलको नेता छान्न बाँकी छ ।
सुदूर पश्चिम प्रदेशमा भने नागरिक उन्मुक्ति पार्टी निर्णायक भएका कारण यसको सहयोग बिना सरकार गठन हुने अवस्था छैन। त्यसका लागि उसले जेलमा रहेका नेता रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने शर्त अगाडि सारेको छ। उसको माग एमाले र माओवादी सकारात्मक रहेको बताइएको छ।