समाचार

एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन माधव नेपालका सम्धीको घरमा वार्ता

१३ पुष २०७९, बुधबार ०३:०८
एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन माधव नेपालका सम्धीको घरमा वार्ता

१३ पुस, काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउन छलफल सुरु भएको छ । यसअघि कांग्रेस नेतृत्वको गठबन्धनमा रहेको एकीकृत समाजवादी नयाँ समीकरण बनेसँगै अन्योलमा रहेको सन्दर्भमा उसलाई सरकारमा सहभागी गराउने विषयमा छलफल सुरु भएको हो।

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच मंगलबार राति भेटवार्ता  भएको छ ।  नेपालका  सम्धी सोमप्रसाद पाण्डेको निवासमा भेटवार्ता भएको स्रोतले जानकारी दियो ।

एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेको घरमा अध्यक्ष नेपाल र उपाध्यक्ष पौडेलबीच भेटवार्ताका क्रममा नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका हुन् । पाण्डेले भेटवार्ताबारे केही बोल्न चाहेनन् ।

विश्वस्त स्रोतका त्यस क्रममा नेता पौडेलले एमालेमा फर्कन समेत प्रस्ताव गरेका छन् । तर नेपालले स्पष्ट जवाफ नदिएपनि सोच्न सकिने भन्दै केही सर्त राखेको बुझिएको छ ।

मंगलबारै दिउँसो पनि वामपन्थी एकताको पहल गरिरहेका वामदेव गौतमले अध्यक्ष नेपाललाई भेटेर प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेका थिए । यस्तै प्रचण्डले पनि माधव नेपालसँगको भेटमा सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

उसो त सोमबार प्रधानमन्त्रीको शपथका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच संवादहीनता टुटेको थियो ।

प्रतिक्रिया दिनुहोस्