१२ पुस, काठमाडौँ। जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपणका लागि उनको जन्म भएको अदालतबाट कागजात झिकाउन आदेश दिएको छ ।
मंगलबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले पीडित किशोरीको जन्मसम्बन्धी प्रमाण झिकाउने आदेश दिएको सन्दीपका कानुन व्यवसायी सरोजकुमार घिमिरेले जानकारी दिए।
लामिछानेमाथि नाबालिग (१८ वर्षमुनि) लाई बलात्कार गरेको आरोप छ। तर सन्दीपको पक्षले किशोरी १८ वर्ष मुनिको नभएको भन्दै आएका छन्।
उमेर सम्बन्धी विवाद भएपछि इजलासले उनको जन्म सम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको हो।
यस्तै इजलासले अर्का क्रिकेटर देव खनाल र मेडिकल गराएका चिकित्सकलाई समेत झिकाउन आदेश दिएको छ। उनीहरूलाई यसअघि नै बोलाउँदा पनि नआएको भन्दै अदालतले त्यही आदेशलाई निरन्तरता दिँदै झिकाउन आदेश दिएको कानुन व्यवसायी घिमिरेले बताए।