समाचार

कांग्रेसले नमानेपछि ओलीसँग वार्ता गर्न तयार थिए नेपाल, तर प्रचण्ड एक्लैले सम्झौता गरेको गुनासो

१२ पुष २०७९, मंगलवार १५:३१
कांग्रेसले नमानेपछि ओलीसँग वार्ता गर्न तयार थिए नेपाल, तर प्रचण्ड एक्लैले सम्झौता गरेको गुनासो

१२ पुस, काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको चालमा कांग्रेस सभापति शेरबहादुर देउवा विश्वस्त हुँदा सत्ता गठबन्धन भत्किएको आरोप लगाएका छन्।

सुदूरपश्चिमबाट निर्वाचित नेकपा एसका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको स्वागतमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले ओलीको चाल देउवाले बुझ्न नसक्दा गठबन्धन भताभुंग भएको बताए ।

पार्टी कार्यालयमा सुदूरपश्चिमबाट निर्वाचित सांसदहरूलाई बधाई दिने क्रममा अध्यक्ष नेपालले ओलीको आश्वासनमा देउवा विश्वस्त हुँदा पाँच दलीय गठबन्धन भत्किएको आरोप लगाएका हुन्।

नेपालले भने– म तपाईंहरुलाई गोप्य कुरा भन्छु, मोबाइल बन्द गर्नुस् । केपी ओलीले त्यो दिन (आइतबार) बिहान पनि देउवाजीलाई फोन गरेर तपाई कुनै हालतमा प्रधानमन्त्री नछाड्नुस् । त्यसपछि प्रचण्ड रिसाएर हिँड्छन् । मैले उनलाई समर्थन गर्दिनँ, तपाई ५ वर्ष नै प्रधानमन्त्री बन्नुहोला भनेछन् । देउवाजी मख्ख परेर बसे । प्रचण्डले गठबन्धन तोडियो भनेर बालुवाटार बाट हिँडेपछि पनि देउवालाई विश्वास थिएन । ४ बजेसम्म केपी ओलीलाई पर्खेर बालुवाटारमा बस्दा उता हस्ताक्षर भइसकेको थियो । मलाई फोन गरेर माधवजी प्रचण्डजीलाई भन्नुस् पहिलो कार्यकाल उहाँलाई नै दिने हो । तर त्यतिबेला ढिला भइसकेको थियो । समय घर्केपछि भनेर हुन्छ ? उनीहरु राष्ट्रपतिकोमा गइसकेका थिए ।

उनले कांग्रेसबिनाको सरकारका लागि आफूले तत्कालै कदम चाल्न थालेको पनि बताए। ‘मैले तुरुन्तै रवि लामिछानेलाई फोन गरेँ, राजेन्द्र लिङदेनलाई गरेँ, उपेन्द्र यादवलाई फोन गरेँ। उनीहरुलाई बसेर कुरा गरौँ भने। यादवजीले आउँछु भन्नुभयो। राजेन्द्रजीको फोन उठेन’, उनले थपे, ‘रवि बालकोट जाँदैछु भन्नुभयो। अनि मैले बालकोटले तानिहालेछ भन्ने ठानेँ। उहाँहरुलाई बस्नु भनेँ।’

त्यसपछि आफूसँग बालुवाटारमा सल्लाह गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्ड पनि एक्लै बालकोट लागेको थाहा पाएको उनले बताए।

‘म पार्टी कार्यालयममै हुँदा प्रचण्डजी पनि बालकोट जानु भएको खबर आयो। उहाँ बालुवाटारबाट खुमलाटार जानु भएको थियो। त्यहाँबाट बालकोट पुग्नु भएछ। त्यसपछि त बहुमत हस्ताक्षर पुगिसकेको कुरा आयो। अशोक राईदेखि सीके राउत पनि पुगेको खबर पाएँ। सबैजना बालकोट पुगेको खबर पाएँ।’

प्रतिक्रिया दिनुहोस्