११ पुस, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले सरकारमा सहभागी हुने विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरुलाई कारागार बोलाएका छन् ।
आइतबार मात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा भएको सात दलीय छलफलमा रेशम संस्थापक रहेको उन्मुक्ति पार्टी पनि सहभागी थियो ।
उक्त छलफलपछि सरकारमा सहभागी हुन सहमति दिएको उन्मुक्ति पार्टीले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेको छ।
चौधरीले सोमबार पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसहितका शीर्ष नेताहरूलाई डिल्लीबजारस्थित कारागारमा छलफलका लागि बोलाएका हुन् ।
पार्टीका प्रवक्ता दामोदर पण्डितले संघीय सरकार र प्रदेश सरकारमा पार्टीको सहभागिताका विषयमा छलफल गर्न आफूहरू डिल्लीबजार कारागार गइरहेको पुष्टि गरेका छन् ।
उक्त पार्टीले प्रतिनिधि सभामा ३ सिट जितेको छ । सुदूरपश्चिम प्रदेश सभामा समानुपातिकसहित ७ सांसद र लुम्बिनी प्रदेशमा चार जना सांसदको प्रतिनिधित्व छ ।