१० पुस, काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री पदकाे शपथ लिने भएका छन् ।
प्रचण्डकाे शपथसँगै सानाे आकारकाे मन्त्रिपरिषद् गठन हुनेछ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।
आइतबारै प्रचण्डले आफूलाई १७९ सांसदको समर्थन रहेको दाबीसहितको पत्र राष्ट्रपतिलाई बुझाएका थिए । प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेका हुन् ।
राष्ट्रपति भण्डारीले उनलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। आज नै प्रचण्डले आफ्नो पार्टी माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राजपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी तथा तीन स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए।
प्रचण्ड प्रधानमन्त्रीमा तेस्रोपटक नियुक्त भएका हुन्। उनी यसअघि २०६५ साउनदेखि २०६६ वैशाख २१ गतेसम्म र २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म प्रधानमन्त्री बनेका थिए।