१० पुस, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको छ । माओवादी केन्द्र, कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएको छ ।
अहिले त्यहाँ ४ दलका नेताहरूबीच सरकार गठनलाई लिएर छलफल भइरहेको छ । छलफलमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ र सचिव वर्षमान पुन छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र महामन्त्री मुकुल ढकाल छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार भएको छलफलमा अहिले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ ।
एक नेता भन्छन्, ‘आलोपालो प्रधानमन्त्रीको सहमति भएको छ । अहिले प्रचण्डको नेतृत्वमा सरकार बन्छ ।’ १६६ सांसदको समर्थन जुटाएको नेताहरुको दाबी छ ।
प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र जनमत पार्टी ६ लगायत अन्य साना दलको समेत समर्थन जुटेको बताइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले प्रचण्डलाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय भएको बताइएको छ । साढे २ वर्षपछि भने एमालेले प्रधानमन्त्री लिने सहमति भएको छ ।