समाचार

प्रधानमन्त्रीका लागि कांग्रेस र माओवादीको हानथाप, आज निर्णायक वार्ता

१० पुष २०७९, आईतवार ०३:०४
प्रधानमन्त्रीका लागि कांग्रेस र माओवादीको हानथाप, आज निर्णायक वार्ता

१० पुस, काठमाडौं।नयाँ सरकार निर्माणमा भागबण्डाको सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आइतबार बस्दैछ ।

नेताहरुले आजको बैठकलाई ‘निर्णायक’ भनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा साँझ ५ बजे सकिन लागेकाले सो अघि नै सहमति जुटाउन पहल हुने गठबन्धनका नेताहरुको भनाइ छ ।

यसअघि शनिबार साँझ बसेको सत्ता गठबन्धनको बैठक आइतबार बिहान फेरि बस्ने गरी सकिएको थियो । प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आ–आफ्नो दाबी नछाडेपछि निरन्तरका बैठकहरु निष्कर्षविहीन बन्दै आएका छन् ।

पूर्वसहमतिअनुसार कांग्रेसले दोस्रो कार्यकालमा प्रधानमन्त्री लिने र पहिलो कार्यकालमा माओवादीले लिने सहमति भएपनि अहिले आएर देउवाले दिन आनाकानी गरेको माओवादीका नेताहरुले गुनासो गर्दै आएका छन् । कतिपय माओवादी नेताहरुले पूर्वसहमति कार्यान्वयन नभए गठबन्धनको औचित्य सकिने समेत तर्क गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्