१० पुस, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आइतबार अपराह्न ५ बजे सकिँदै गर्दा दलहरूले अझै नयाँ सरकार गठन र प्रधानमन्त्रीमा दाबी पेश गर्न सकेका छैनन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते दिएको ७ दिनको समय अपराह्न सकिन लागेको हो। मंसिर ४ गते सम्पन्न निर्वाचनमा कुनै पनि दलले बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्रीको दाबी पेश गर्न आह्वान गरेकी थिइन् ।
पहिलो चरणमा प्रधानमन्त्रीमा कांग्रेस र माओवादी दुवैले अडान कायमै राखिरहेका छन् । जसका कारण लगातार दुई दिनको छलफलले कुनै निकास दिन सकेन । अस्ति प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड बिचको छलफलले ठोस निर्णय गर्न नसकेपछि हिजो बालुवाटारमा गठबन्धनको बैठक आह्वान गरिएको थियो । उक्त बैठकले पनि कुनै निर्णय गर्न सकेन ।
आज पुन ९ बजे गठबन्धनको निर्णायक बैठक बोलाइएको छ । ९ बजेको बैठकमा पनि सहमति हुन नसके गठबन्धन नरहन सक्ने नेताहरूले सङ्केत दिएका छन् ।
यता गठबन्धन भित्रै माओवादी र नेपाली काङ्ग्रेससँग सहमति जुट्न नसक्दा कांग्रेसले एमालेको साथमा पनि सरकार बनाउन सक्ने सङ्केत दिएको छ । हिजो दिउसो एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड प्रधानमन्त्री बन्ने सम्भावना नरहेको टिप्पणी गरेकै साँझ शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई बालकोट पठाएका थिए ।
निधी देउवाको दूत भएर बालकोट गएका हुन् । गठबन्धनको दोस्रो ठुलो दल माओवादीले अड्को थापेपछि कांग्रेस एमालेको साथमा अघि बढ्न तयार देखिएको छ । तर,एमाले र कांग्रेस बिच पनि औपचारिक रूपमा सरकार गठन लगायतका विषयमा छलफल भएको छैन ।