समाचार

प्रधानमन्त्री देउवासँग भेटवार्ताका लागि प्रचण्ड बालुवाटारमा

७ पुष २०७९, बिहीबार १२:३६
प्रधानमन्त्री देउवासँग भेटवार्ताका लागि प्रचण्ड बालुवाटारमा

७ पुस, काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

 संसदीय दलको नेतामा चयन भएलगत्तै उनी भावी सरकार गठनबारे छलफल गर्न बालुवाटार पुगेका हुन्। देउवाका प्रेस सहयोगी गोविन्द परियारका अनुसार अहिले देउवा र दाहालबीच कुराकानी भइरहेको छ। बिहीबार प्रतिनिधिसभा सदस्यको शपथ ग्रणहलगत्तै सिंहदरबारमा भएको संसदीय दलको बैठकबाट दाहाल दलको नेतामा चयन भएका थिए ।

आज साँझ देउवासँग निर्णायक वार्ता गर्ने प्रचण्डले दिउँसो बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा जानकारी गराएका थिए । ‘सरकार गठनका लागि छलफल चलिरहेको छ, कुरा सकारात्मक नै छ । संसदीय दलको नेता चयनपछि आजै (बिहीवार साँझ) देउवाजीसँग कुरा गर्दैछु’, प्रचण्डको भनाइ उदृत गर्दै माओवादीका एक सचिवले लोकान्तरसँग भने, ‘सकेसम्म माधवजी र मसँगै कुरा गर्न जान्छौँ ।’

सरकार गठनका लागि दलहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समय सकिन अब ३ दिन मात्र बाँकी रहे पनि सरकार बनाउने सबैभन्दा बढी सम्भावना भएको सत्ता गठबन्धनमा पावर शेयरिङको विषयले औपचारिक प्रवेश नै पाएको छैन । प्रधानमन्त्रीमा कांग्रेस र माओवादी दुवैले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्