५ पुस, काठमाडौँ । मगलबार देशका उच्च पहाडी भेगका केही ठाउँमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ।
भारतको बिहार क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली हुँदा नेपालका उच्च पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो पनि प्रदेश १ को पहाडी क्षेत्रको एक/दुई ठाउँमा हल्का वर्षा र बागमती र गण्डकीको उच्च पहाडी भू-भागका एक/दुई क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार ती ठाउँ बाहेक अन्य भागमा भने मौसम सामान्यतया सफा रहने छ ।
प्रदेश १ मा आंशिकदेखि सामान्य बदली, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । बिहीबार भने मौसम आंशिक बदली भए पनि वर्षा र हिमपातको सम्भावना न्यून रहेको छ ।