खेलकुद

विश्वकप फुटबल : अर्जेन्टिना फाइनलमा

२८ मंसिर २०७९, बुधबार ०३:१४
विश्वकप फुटबल : अर्जेन्टिना फाइनलमा

२८ मंसिर, काठमाडौँ।अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३-० गोलअन्तरले पराजित गर्र्दै अर्जेन्टिना फाइनलमा पुगेको हो ।

फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३९औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अग्रता दोब्बर बनाए ।

साथै ६९औँ मिनेटमा अल्भारेजको दोस्रो गोलपछि अर्जेन्टिनाले ३-० गोलअन्तरको जीत सुनिश्चित गर्यो । जीतसगै अर्जेन्टिनाले सन् २०१८ मा रुसमा भएको विश्वकपको समूह चरणको खेल क्रोएसियासँग ३-० को हारको बदला पनि लिएको छ ।

क्वार्टरफाइनलमा अर्जेन्टिना र क्रोएसिया दुवै टोली पेनाल्टी सुटआउटमा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका थिए । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई र क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका थिए । विश्वकपमा अर्जेन्टिनाको यो छैटौँ पटकको फाइनल यात्रा हो ।

अर्जेन्टिना यसअघि सन् १९३०, १९७८, १९८६, १९९०, २०१४ फाइनलमा पुगेको थियो भने दुई पटक विश्वकप उपाधि जितेको छ । सेमिफाइनलको दोस्रो खेल नेपाली समयअनुसार बुधबार राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्