समाचार

अध्यादेश स्वागत योग्य : विप्लव

२७ मंसिर २०७९, मंगलवार १०:५६
अध्यादेश स्वागत योग्य : विप्लव

२७ मंसिर, काठमाडौं । सरकारले भर्खरै ल्याएकाे अध्यादेशकाे नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्वागत गरेकाे छ ।

नेकपा महासचिव विप्लवले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, नेपाल सरकारले हाम्रो पार्टीसँग भएको तीन बुँदे सहमति अनुसार नेता तथा कार्यकर्ताहरुमाथि लागेका सम्पूर्ण मुद्दाको खारेजी तथा बन्दी नेता÷कार्यकर्ताहरूको रिहाइका लागि मंसिर २५ गतेको मन्त्रीपरिषद्को वैठकवाट अध्यादेशवारे निर्णय गरि प्रमाणीकरणका लागि सम्माननीय राष्ट्रपति समक्ष पेश गरेको छ ।

तीन बुँदे सहमतिप्रति आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्दै उनले राष्ट्रपतिबाट अध्यादेश स्वीकृत हुने अपेक्षा गरेको विज्ञप्तिमा उल्लेख छ। ‘कानुन निर्माण प्रक्रियालाई पूर्णता दिई सहमतिलाई लागू गर्ने वातावरण निर्माण गर्न सम्माननीय राष्ट्रपतिज्यूलाई पार्टी विशेष आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

अध्यादेशको सरकारकै नेतृत्व गरिरहेको नेपाली कांग्रेसका कतिपय नेताले विरोध गरेको भन्दै विप्लवले आश्चर्य समेत व्यक्त गरेका छन्। ‘कुनै पनि जिम्मेवार नेताले देशका राजनीतिक समस्याहरुलाई यथाशीघ्र समाधान गर्न अग्रगामी पहल गर्नुको सट्टा सरकारले गरेको पहलमा समेत बाधा अवरोध खडा गर्नु भनेको गम्भीर समस्याको विषय हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सहमति भएको दुई वर्ष बित्न थाल्दा पनि लागु नहुनुमा कतै यस्तै गलत सोच र बुझाइले काम गरेको त छैन भन्ने आशंका पैदा गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्