२४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज दिउँसो चार बजे सकिन लाग्दा दलहरू त्यसको तयारी गरिरहेका छन् ।
सांसदको टुङ्गो लगाउन नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, जसपा र राप्रपालगायतका पार्टीले आज पार्टीको बैठक बोलाएका छन् ।
कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति, एमालेको केन्द्रीय सचिवालय र जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा शुक्रबार बसेको माओवादीको पदाधिकारी बैठकले समानुपातिकतर्फको सांसदको निर्णय गर्ने अपेक्षा गरिएको भए पनि छलफल जारी रहेकाले निर्णयमा पुग्न असमर्थ भएको सो पार्टीले जनाएको छ ।
समानुपातिकमा प्राप्त मतअनुसार कांग्रेसले ३२ वटा सिट पाएको छ। समानुपातिकमा प्राप्त ३२ सिटमध्ये कांग्रेसले २९ जना महिला नै सिफारिस गर्नुपर्नेछ।
कांग्रेसको तर्फबाट पुरुष ३ जना मात्र पाउने भएका छन्। ३२ सिटमा आदिवासी जनजातिबाट ९, खस आर्यबाट १०, थारुबाट २, दलितबाट ५, मधेसी ५, मुस्लिमबबाट १ जना समेट्नैपर्ने हुन्छ। जसमा पिछडिएको क्षेत्र कम्तीमा १ जना समावेश हुनुपर्छ। र सबै क्लस्टरबाट कम्तिमा ५० प्रतिशत महिला हुनैपर्छ।
महिला धेरै समेट्नुपर्ने भएकाले यी कलस्टरबाट पुरुष छानिने सम्भावना कम छ। तर, कांग्रेसमा समानुपातिकबाट सांसद् ‘बनाउनैपर्ने’ कम्तिमा ५ जना पुरुष नेता रहेकका छन्। जो आफ्नो कलस्टरको पहिलो नम्बरमासमेत छन्।
यस्तै, एमाले केन्द्रीय सचिवालय बैठक शनिबारका लागि सरेको छ । एमाले अध्यक्ष केपी ओलीले शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएका थिए । तर, ओलीको कार्यव्यस्तताका कारण एमाले बैठक हिजो बस्न सकेन ।
पदाधिकारी उपस्थित रहने सो बैठक शनिबार बस्ने तय भएको छ । एमालेले ३४ सिट पाएको छ । जसमा उसले १५ पुरुष र बाँकी महिला सांसद पठाउनुपर्ने छ । एमालेले प्रदेशमा ९१ सिट पाएको छ ।
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । पार्टी कार्यालयमा अहिले केहीबेरमा बस्नदे बैठकले समानुपातिकतर्फका सांसदबारे निर्णय गरिने भएको हो। जनमत र नागरिक उन्मुक्ति पार्टी र लोसपाले भने यसअघि नै समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् । समानुपातिक सांसद पाउने अन्य पार्टीहरुले पनि आजै छलफल गर्दैछन् ।