समाचार

निर्वाचन नतिजाको समीक्षा गर्दै लोसपा

२२ मंसिर २०७९, बिहीबार ०४:३४
निर्वाचन नतिजाको समीक्षा गर्दै लोसपा

२२ मंसिर, जनकपुरधाम। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा सुरु गरेको छ । लोसपाले धनुषा क्षेत्र नम्बर–३ मा भएको पराजयबारे पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थितिमा समीक्षा सुरु गरेको हो ।

वि.सं. २०७४ को निर्वाचनमा धनुषा–३ बाट नेता महतोले चुनाव जितेका थिए । यसपटकको चुनावमा महतोले सो क्षेत्र सोही पार्टीका कार्यकारिणी सदस्य अनिलकुमार झालाई छाडेर सर्लाही–२ बाट चुनाव लडेका थिए । तर, धनुषा–३ मा झा र सर्लाही–२ मा महतो दुवैजना पराजित भए ।

नेता झालाई नेकपा (एमाले)की जुलीकुमारी महतोले पराजित गरिन् । महतोलाई नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले पराजित गरे । धनुषा–३ महतोको पुरानो चुनावी क्षेत्र भएको कारणले उनलाई पनि बैठकमा सहभागी गराई समीक्षा सुरु गरिएको लोसपाका नेता मनोज चौधरीले जानकारी दिए । सत्ता गठबन्धनका साझा उमेदवार रहेका नेता झा कसरी पराजित भए भन्नेबारेमा समीक्षा भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्