समाचार

समानुपातिकको सिट बाँडफाँट कुन दलको कति सांसद ?

२१ मंसिर २०७९, बुधबार ११:४५
समानुपातिकको सिट बाँडफाँट कुन दलको कति सांसद ?

२१ मंसिर, काठमाडौं। निर्वाचन आयोगले बुधबार समानुपातिकतर्फको सिट बाँडफाँट गरेर दलहरूलाई पत्रचार गर्ने भएको छ।

बुधबार दिउँसो आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि र प्रदेश सभा समानुपातिकतर्फ सबैभन्दा धेरै सिट नेकपा (एमाले) ले पाएको छ।

आयोगका अनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फ सबैभन्दा बढी लोकप्रिय मत एमालेले ३४, कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जनता समाजवादी पार्टी र जनमत पार्टीले ५/५ सिट पाएका छन्।

प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेस कूल ८९ सिटसहित पहिलो दल बनेको छ। प्रत्यक्षमा ४४ सिट जितेको नेकपा एमाले ७८ सिटसहित दोस्रो बनेको छ। तेस्रो दल बनेको माओवादीले प्रत्यक्षको १८ सहित ३२ सिट प्राप्त गरेको छ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रत्यक्षको ७ सहित कूल २० सांसद रहने छन्। यसअघि एक सिटमा सिमित राप्रपाले प्रत्यक्षमा ७ र समानुपातिकबाट ७ गरी १४ सिट पुर्याएको छ। जनता समाजवादी पार्टीे प्रत्यक्षबाट ७ र समानुपातिकबाट ५ गरी १२ सिटमा सिमित हुँदा मधेशबाट उदाएको सिके राउत नेतृत्वको जनमत पार्टीले प्रत्यक्ष एक र समनुपातिकबाट ५ गरी ६ सिट प्राप्त गर्ने भएको छ।

एमालेले प्रदेश सभामा ७० सहित १०४ सिट पाएको छ। उसले प्रतिनिधि सभामा ३४ सिट पाएको छ। एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४ गण्डकीमा १०, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ ।

यसैगरी, ९६ सांसदसहित दोस्रो स्थानमा रहेको कांग्रेसले प्रतिनिधिसभामा ३२,  प्रदेश १ मा १२, मधेश प्रदेशमा ९, बागमतीमा १२ गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ जना सांसद पाएको छ । 

एकीकृत समाजवादीले प्रतिनिधिसभामा सिट पाएको छैन भने प्रतिनिधिसभामा जम्मा ९ सांसद पाएको छ । नेमकिपाले प्रदेशसभामात्रै २ सांसद पाएको छ । जनता समाजवादी पार्टीले प्रतिनिधिसभा ५ र  प्रदेशसभामा ९ सांसद पाएको छ । जनतम पार्टीले प्रतिनिधिसभामा ५ र प्रदेशसभा ९ सिट पाएको छ । 

प्रदेशसभामात्र सिट पाएका लोसपाले ३, नेपाल संघीय समाजवादीले १, नागरिक उन्मुक्ति पार्टीले ५, राष्ट्रिय जनमोर्चाले १,  हाम्रो नेपाली पार्टीले १ सिट पाएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्