२० मंसिर, काठमाडौं ।नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार गठन हुने विश्वास व्यक्त गरेका थिए ।
नेपालीका कांग्रेस महानगर समितिद्वारा आज यहाँ आयोजित नेका नेता गुरुराज घिमिरेद्वारा लिखित पुस्तक ‘बाटो बिराएको राजनीति’ पुस्तकको विमोचन गर्दै उनले आगामी सरकारले जनताले चाहेको सुशासन, भ्रष्टाचारको अन्त्य, विकास र समृद्धि पूरा गर्नुपर्नेजस्ता चुनौती रहेको बताए ।
इतिहास रचेको कांग्रेस पार्टीको शाख र विचार आगामी दिनमा जोगाउन र राजनीतिलाई सही बाटोमा लग्ने जिम्मा युवा पुस्तामा हस्तान्तरण गर्नुपर्नेे छ ।” नेता कोइरालाले कुनै विवाद विना एक ढिक्का भइ पार्टीलाई पुरानो अवस्थामा फर्काउनुपर्नेमा जोड दिए ।
उनले निर्वाचनमा कांग्रेसले प्राप्त सिट सङ्ख्या वृद्धि भए पनि सात प्रतिशत मत घटेकोमा गम्भीर हुनुपर्छ भन्दै यसका लागि स्वतन्त्र एक छानबिन समिति गठन गर्नुपर्ने बताए । कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको नेतृत्वमा निर्माण हुने आगामी सरकारले सही ढङ्गबाट मुलुक सञ्चालन गरेर गुमाएको लाखौँ जनमत समेट्नुपर्ने बताए ।
उनले सरकार सञ्चालन गर्दा पूर्वाधार, शिक्षा, विकास निर्माण, स्वास्थ्य, रोजगारी सिर्जनासम्बन्धी काम गरेर जनताको मत जित्नुपर्नेमा जोड दिए । उनले आगामी सरकार निर्माण गर्दा नेतृत्वले जनता समक्ष स्पष्टता, प्रतिबद्धता जनाउनुपर्ने धारणा राख्दै पार्टीप्रति जनताको आकर्षण बढाउन मुलुकमा सुशासन, परिणाममुखी काम गर्नुपर्ने विचार राखेका थिए ।
नेता थापाले पार्टीले पाएको ऐतिहासिक मौकाको सही ठाउँमा प्रयोग गरेर लोकतन्त्रलाई संस्थागत, देशप्रति जिम्मेवार भइ समर्पित भइ ‘बाटो सुधारिएको राजनीति’ निर्माण गर्नुपर्ने बताए । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले राजनीतिक नेतृत्वले जे गर्न सक्ने हो त्यो मात्र बोल्न आग्रह गरेका थिए ।
नेकांका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले सरकारको नेतृत्वले आगामी पाँच वर्षभित्र गर्ने कार्यको दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताए ।
नव निर्वाचित मोरङका प्रतिनिधिसभा सदस्यद्वय अमनलाल मोदी र योगेन्द्र मण्डल, प्रदेशसभा सदस्यद्वय अमृत अर्याल र भीम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, महानगर समितिका सभापति दीपक चापागाईं र लेखक गुरुराज घिमिरेलगायतले जनताको विकास र समृद्धिको चाहना पूरा गर्न युवा पुस्ताले आगामी सरकारको नेतृत्व लिनुपर्ने धारणा व्यक्त गरेका थिए ।