१८ मंसिर, काठमाडौं ।नेकपा माओवादी केन्द्रले हाल कायम रहेको सत्ता गठबन्धनकै सरकार बनाउन पार्टीको प्राथमिकता रहने बताएको छ ।
पार्टी पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले पत्रकारहरुसँग कुरा गर्दै अहिले यो गठबन्धनको विकल्प नखोजिएको स्पष्ट पार्दै एमालेसँग सहकार्यको कुनै तयारी नभएको बताए ।
‘अहिलेको गठबन्धनलाई तोड्ने वा फोड्ने कुरा भएको छैन। आपसी समझदारीलाई जोड दिने हो। अहिलेको गठबन्धनको विकल्पबारे सोचेका छैनौं,’ गुरूङले भने, ‘गठबन्धनको बैठक गरेर समीक्षा गर्छौं।’
गुरूङका अनुसार सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक सोमबार बस्ने तय भएको छ। उक्त बैठकमा चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल हुनेछ।
उनले बैठकले निर्वाचनको परिणामको प्रारम्भिक समीक्षा भएको बताए । ‘हामीले पार्टीको पदाधिकारी बैठकमा चुनावको परिणामको प्रारम्भिक समीक्षा गर्यौँ । यसको विस्तृत समीक्षा पछि स्थायी कमिटी वा पोलिटब्युरो बैठकमा हुन्छ नै,’ उनले भने, ‘निर्वाचनमा गबठन्धनको प्रक्रियाबाट हामी सहभागी भयौँ।
निर्वाचनबाट अपेक्षाकृतरुपमा परिणाम नआएको भएपनि मुलभूतरुपमा राम्रो परिणाम आएको छ भन्ने नै हो । यसलाई स्वीकार गरेरै अघि बढ्नुको विकल्प छैन । कहाँ कस्ता कमजोरी भए, त्यसबारे छलफल गरेर आगामी दिनमा त्यस्ता कमजोरी सुधारेर जानुपर्ने हुन्छ ।’