१४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति विलमेन्द्र निधि र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटघाट भएको छ।
हालै सम्पन्न निर्वाचनमा सप्तरीबाट विजयी भएका अध्यक्ष राउत कांग्रेस नेता निधिलाई भेट्न उनको निवास बानेश्वर पुगेका थिए । भेटमा निधिले राउतलाई प्रतिनिधिसभामा निर्वाचित भएकामा बधाई दिँदै कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका उनको सचिवालयले जनाएको छ ।
निधिको प्रस्तावमा सहमति जनाउँदै राउतले संघ र प्रदेश सरकार गठनमा सहभागी हुन आफू पूर्ण रुपमा सकारात्मक भएको जवाफ दिएका निधिको सचिवालयको भनाइ छ ।
निधिसँगको भेटमा राउतले आफ्नोबारेमा अनावश्यक भ्रम फैलाइएको बताउँदै आफू शान्ति र लोकतन्त्रमा विश्वास गर्ने प्रजातन्त्रवादी भएको र कांग्रेससँग सहकार्य गर्न तयार रहेको प्रष्ट पारेका थिए।
भेटमा निधिले राउतलाई कांग्रेस र सत्ता गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका थिए। निधिको प्रस्तावमा सहमति जनाउँदै राउतले संघ र प्रदेश सरकार गठनमा सहभागी हुन आफू पूर्ण रूपमा सकारात्मक भएको जवाफ दिएका थिए।