१४ मङ्सिर, काठमाडौं । आम निर्वाचन २०७९ को नतिजा आउने क्रम अन्तिम चरणमा पुग्दा नयाँ सरकार गठनको जोडघटाउ सुरु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बालुवाटारमा छलफल हुनुले आगामी सरकार सत्ता गठबन्धनले नै बनाउने बलियो सम्भावना देखिएको हो ।
बहुमत ल्याउने लक्ष्यका साथ चुनावमा होमिएपनि सत्ता गठबन्धनभित्रै बहुमत नपुग्ने निश्चित भएको छ । संघीय संसदका १६५ निर्वाचन क्षेत्रमध्ये ३ स्थानको नतिजा आउन बाँकी रहँदा सत्ता गठबन्धन बहुमत नजिक पुगेपनि सरकार बनाउन पर्याप्त संख्या भने पुर्याइसकेको अवस्था छैन ।
हालसम्म १६१ स्थानको नतिजा आइसकेको छ । कांग्रेसले प्रत्यक्षतर्फ ५४ सिटमा जित हासिल गरेको छ । समानुपातिकतर्फ दोस्रोमा रहेको कांग्रेसले ३३ सिट ल्याउने सम्भावना छ । कांग्रेससँग ८७ सिट हुने देखिएको छ ।
प्रत्यक्षमा दोस्रो स्थानमा रहेको नेकपा एमालेले प्रत्यक्षतर्फ ४४ सिट जितेको छ । समानुपातिकतर्फ हालसम्मको अवस्थामा एमालेले ३५ सिट ल्याउने सम्भावना छ । अर्थात् एमालेसँग ७९ सिट हुनेछ । तर, नेकपा एकीकृत समाजवादीले थ्रेस होल्ड कटाएको खण्डमा समानुपातिकतर्फ सिट घट्ने छ ।
२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन बहुमतका लागि १३८ सिट आवश्यक पर्छ । सत्तारूढ गठबन्धनमा रहेका दलले सरकार गठनलाई लिएर छलफल गर्न थालेका छन् ।
राजनीतिमा यस्तै हुन्छ भन्ने अवस्था नरहे पनि सामान्यतया वर्तमान सत्ता गठबन्धनकै सरकार बन्ने अवस्था देखिएको टिप्पणी गर्दै राजनीतिक विश्लेषक शंकर तिवारीले भन्नुभयो– ‘प्रत्यक्ष र समानुपातिक गरी २ सय ७५ सदस्यीय प्रतिनिधि सभामा कुनै पनि दलको बहुमत अर्थात् सरकार बनाउन आवश्यक १ सय ३८ सांसद संख्या नपुग्ने भएपछि दुईभन्दा बढी दलहरू मिलेर सरकार बन्ने संवैधानिक व्यवस्था छ । अहिलेकै अवस्था हेर्दा सत्ता गठबन्धनकै सरकार बन्ने सम्भावना बढी छ ।’