१३ मङ्सिर, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बागमती किनारामा रहेको सुकुम्बासी बस्तीमा राज्य पक्षबाट नै डोजर आतंक फैल्याउने काम गरिएको भन्दै आपत्ति जनाएका छन् ।
अध्यक्ष ओलीले बल प्रयोग गरेर सुकुम्बासी बस्तीमा रहेका गरिव नागरिकलाई शत्रुको रुपमा व्यवहार गर्दै बल प्रयोग गरेर उनीहरुलाई पराजित गर्ने तमासा नदेखाउन पनि राज्य पक्षलाई सचेत गराए ।
ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सुकुम्बासी समस्या समाधानका लागि गठन गरिएको आयोगले त्यो समस्या समाधान गर्नुपर्नेमा अन्यथा किन गरिएको पनि प्रश्नसमेत गरे ।
उनले भने ‘नकारात्मक ढङ्गले देश बन्दैन । सुकुम्वासी बस्तीमा तमासा तपाईंहरूले हेर्नु भयो होला । त्यहाँ कुन शत्रु बसेका छन् ? गरिब, गुरुवा बसेका छन् । ती कुनै शत्रु त होइनन् । चुप लागेर खोलाको किनारामा बसेका जनतालाई ठिक लगाएर कुन बहादुरी पाइन्छ ? समस्याको समाधान गर्ने तरिका के हो ? गरिब जनतालाई पराजित गरेर को विजयी हुने ? यो जित–हारको प्रश्न होइन ।
यो समस्या समाधानको प्रश्न हो । लोकतन्त्रमा समस्या समाधानको तरिका बल प्रयोग होइन । उचित समाधान दिनु र कुनै पनि कुरालाई तर्कपूर्ण ढङ्गले समाधानमा पुर्याउनुपर्दछ । तर त्यहाँ त सुकुम्वासी र राज्यका बीचमा हार–जित जस्तो भयाे ।’ सुकुम्वासी समस्या समाधान गर्न आयोग बनाएर तयार भइसकेको बेलामा सरकार तत्काल फेर्नुपर्ने, आयोग भङ्ग गर्नुपर्ने अनि त्यो सुकुम्वासी समस्या समाधान आयोग चाहिँ कहाँ गयो ? डोजर लिएर जाने हो भने आयोग किन बनाएको, उनीहरूलाई तनखा खुवाएर किन राखेको ? डोजर किने भयो नि १०/२० वटा ।’