१३ कार्तिक, काठमाडौँ । नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन् ।
नैतिकता भएको भए आफैँले विघटन गरेको संसद् पुनस्र्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाइ थियो ।
आइतवार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीले जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरूले त्यसविरुद्ध आन्दोलन गर्नु परेको जिकिरसमेत गरे । सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्देही क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवार बनेका उनले ओलीमा पछिल्लोपटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधानमाथि नै आक्रमण गरेपछि आफूहरूले विरोध गर्नु परेको उल्लेख गरे ।
‘पछिल्लो पटक जब उहाँ प्रधानमन्त्री हुनु भयो । उहाँले त के ठान्नु भयो भने यी सब कमिला हुन् । यी पार्टीका पनि कमिला बराबर नै हुन् । यी जनता भनेका, अरू पार्टी भनेका, कांग्रेस भनेका यी छिचिमिरा हुन् । यीनको काम छैन भन्ने हिसाबले सोच्नुभयो । संसारमा कोही छ भने म छु । कोही प्रतापी छ भने म छु । कसैसँग त्यो सामर्थ्य छ भने त्यो मसँग छ । मसँग जति यो सामर्थ्य, बुद्धि, क्षमता यो धर्तीमा कसैसँग पनि छैन भन्ने त्यो अभिमान विकसित भयो ।