५ असोज, काठमाडौं। कुनै बेला ‘नेपालमा गणतन्त्र आउँछ भन्नु र गोरुगाडा चढेर अमेरिका जानु उस्तै हो’ भन्ने आशयको अभिव्यक्ति दिएका केपी शर्मा ओलीप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः कटाक्ष गरेका छन्।
सत्ता गठबन्धनले शनिबार विराटनगरमा आयोजना गरेको भेलामा सम्बोधन गर्दै प्रचण्डले ओलीको प्रवृत्ति नफेरिएको बताए। ओलीको नाम नलिई प्रचण्डले थपे- ‘ती गोरुगाडावाला नेता त यो संविधान के गरी उल्ट्याउने होला, यो गणतन्त्रलाई के गरी कमजोर पार्ने होला, यो संघीयतालाई के गरी खारेज गर्ने होला भन्नेतिर नै लागिरहेका रहेछन्। र पटकपटक असंवैधानिक र अलोकतान्त्रिक तरिकाले सदनको विघटन त्यसैको परिणाम थियो।’
‘त्यो संविधान सभा र गणतन्त्र सम्भव छैन भन्नेहरुको गठबन्धन हो। इतिहासलाई पछाडि धकेल्न चाहने, प्रगतिलाई रोक्न चाहने, यो देशका दलित, महिला, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, पिछडिएका क्षेत्रका जनता सबैले पाएको पहिचान र अधिकारलाई उल्ट्याउन चाहने र देशमा फेरि एकाधिकारवाद लाद्न चाहने प्रवृत्ति र विचारको गठबन्धन हो’, उनले भने।