५ असोज, काठमाडौं। अर्थविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले आफूलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले काठमाडौं–७ बाट चुनाव लड्न प्रस्ताव गरेको खुलासा गरेका छन्।
नेपाली कांग्रेसले शनिबार विहान काठमाडौंमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्ने क्रममा उनले कांग्रेसबाट टिकट नपाएपछि आफूलाई एमाले अध्यक्ष ओलीले काठमाडौं ७ बाट उम्मेदवारी दिएका आफ्नो पार्टीले सहयोग गर्ने प्रस्ताव गरेको बताएका हुन् ।
‘कांग्रेसबाट उम्मेदवार हुन खोजेको थिएँ । टिकट पाइनँ। एमाले अध्यक्ष ओलीले फोन गरेर काठमाडौं–७ बाट उठ्न आग्रह गरेका छन् । त्यहाँ हाम्रो उम्मेदवार छैन, एमाले सहयोग गर्छ ।
आफूले कांग्रेस नछाड्ने वाग्लेले बताए। ‘मलाई पार्टीभित्रै केही गर्न सकिन्छ भन्ने छ। पार्टीभित्रै लडेर अघि बढ्न सकिन्छ भन्ने लाग्छ। गगन थापा र विश्वप्रकाश शर्मालाई कसैले दिएर महामन्त्री हुनुभएको होइन। पार्टीभित्रै लडेर महामन्त्री हुनुभयो’, उनले भने । वाग्लेलाई कांग्रेसबाट चितवन–१ बाट प्रतिनिधिसभा उम्मेदवार बनाइने चर्चा चले पनि अन्तिममा टिकट दिइएन।