समाचार

गठबन्धन रहरले बनेको होइन- शिक्षामन्त्री पौडेल

३ कार्तिक २०७९, बिहीबार १५:४३
गठबन्धन रहरले बनेको होइन- शिक्षामन्त्री पौडेल

३ असोज, बागलुङ।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गठबन्धन रहरले नभई देशको आवश्यकताले बनेको बताएका छन् ।

बागलुङको ताराखोला गाउँपालिकामा बिहीबार चुनावी सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले संविधानका उपलब्धिको रक्षाका लागि गठबन्धन बनेको धारणा राखे।

‘संविधान र लोकतन्त्रको रक्षाका लागि दलहरूबीच सहकार्य भएको हो,’ मन्त्री पौडेलले भने, ‘प्राप्त उपलब्धि जोगाउने र थप हकअधिकारको सुनिश्चितताका लागि संघर्ष गर्दै जानुपर्ने दायित्व हाम्रासामु छ।’

सत्ता गठबन्धनबाट बागलुङ–२ बाट उम्मेदवार बनेका मन्त्री पौडेलले समावेशी, समानुपातिक पहुँच र प्रतिनिधित्वसहितको संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ र संस्थागत गर्न आवश्यक रहेको बताए।

जनताद्वारा निर्वाचित प्रतिनिधिले नै विगतमा दुई/दुई पटक संसद भंग गरेको दृष्टान्त सुनाउँदै उनले त्यस्तो प्रवृत्तिले देशलाई अहित गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्