समाचार

कैलाली कांग्रेसले गर्‍यो बागी उम्मेद्वारलाई कारबाही

३० आश्विन २०७९, आईतवार १४:४४
कैलाली कांग्रेसले गर्‍यो बागी उम्मेद्वारलाई कारबाही

३० असोज, काठमाडौं । नेपाली कांग्रेससँग सम्बद्ध रही गठबन्धन दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार भएका उम्मेदवार र निजका प्रस्तावक, समर्थकलाई पार्टीवाट निष्कासन गरिएको छ।

आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारीक उम्मेदवार र सत्तारुढ गठबन्धन पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका उम्मेदवारलाई कारबाही गरिएको जनाएको हो ।

सत्तारुढ गठबन्धन दलहरु र मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको सहमतिअनुरुप आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिई तोकिएको मितिमा उम्मेदवारी फिर्ता नलिएका प्रतिनिधि र प्रदेश सभा दुवैतर्फका उम्मेदवारलाई कारबाही गरिएको जनाइएको छ ।

‘उम्मेदवारसहित प्रस्तावक र सर्मथकलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार तपशिलका व्यक्तिहरुलाई नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरि ५ वर्षका लागि पार्टीको केन्द्रीय कार्य समितिले निष्कासन गरेको व्यवहोरा अवगत गराउँदछौं’, काग्रेस कैलालीका सभापति नारायणदत्त भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।

कारबाहीमा पर्नेमा क्षेत्र नं. २ (ख) का भरतकुमार शाही र उनका समर्थक कमलकुमार विक, क्षेत्र नं. ३ का नवीनकुमार बोहरा सोही क्षेत्रको प्रदेश (ख) का उम्मेदवार गोविन्दराज जोशी उनका प्रस्तावक कमलबहादुर वडुवाल र समर्थक देवीराम खत्री क्षेत्र नम्बर ३ (ख) कै लक्ष्मण शाही, क्षेत्र नम्बर ४ (ख) का भगवती पाठक ओझा, क्षेत्र नम्बर ५ (ख) का क्षितिज भण्डारी र क्षेत्र नं. ५ मा संघीय स्वतन्त्र उम्मेदवारको समर्थक बसेका नवराज जोशीलाई कारबाही गरिएको छ ।

कैलाली क्षेत्र नं. ५ मा संघीय सांसदका लागि स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझा छन् ।

प्रतिक्रिया दिनुहोस्